काठमाडौँ । नेपाल प्रहरीको एक टोली आज गएको भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिका ५ मात्तिम विर्ता पुगेको छ । भूकम्पले गरेको क्षतिको विवरण तथा अवस्था बुझ्न प्रहरीको टोली गएको कोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले बताए ।
‘भूकम्पको केन्द्रविन्दु भएको भएको ठाउँमा अहिले प्रहरी टोली पुगीसकेको छ,’ उनले भने । आज बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका ५ मात्तिम विर्ता केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो ।
‘भूकम्पले ठूलो क्षति गरेको विवरण अहिलेसम्म प्राप्त भएको छैन, मानवीय क्षति केही भएको छैन,’ खोटाङका प्रमुख जिल्ला अधिकारी सेडाईले भने, ‘केही पुराना घरहरु चर्केको, पालि भत्केको खबर प्राप्त भएको छ ।’ अहिले जिल्लाभरिबाट विवरण संकलन गर्ने काम भइरहेको उनले जनाए ।