काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आगामी तीन दिनसम्म दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरा आसपास भई बहने नदि तथा खोलामा बहाब बढ्ने र केहीमा आकस्मिक बहाबसमेत हुन सक्ने जनाएको छ ।
‘उक्त जिल्ला भई बहने ससाना नदीका तटीय क्षेत्रमा सतर्कता अपनऔँ,’ महाशाखाले विज्ञप्तिमा भनेको छ ।
आगामी तीन दिनसम्म प्रमुख नदी कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीको बहाब सामान्य बढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ ।