काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार सम्पन्न सचिवालय बैठकबाट स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन् ।
यो कार्यदलले देशभरिबाट प्राप्त उजुरीका आधारमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउन भूमिका खेल्ने नेता कार्यकर्तामाथि निर्मम कारबाही गर्ने तयारी रहेको छ ।
अधिकांश सचिवालय सदस्यको रायविपरीत अध्यक्ष ओलीको ठाडो प्रस्तावमा उपाध्यक्ष पौडेलको संयोजकत्वमा देवेन्द्र दाहाल र खगराज अधिकारी सदस्य हुने गरी छानबिन र कारबाही गर्ने समिति बनेको हो ।
स्थानीय तह निर्वाचनका क्रममा भएका अन्तर्घातमध्ये पोखरा महानगरमा खगराज अधिकारी र झापामा देवेन्द्र दाहालको संलग्नताबारे उजुरी छ । आरोपित व्यक्तिलाई छानबिन र कारबाही गर्ने अधिकार दिँदा कस्तो निर्णय आउँछ भन्ने यकिन हुन सकेको छैन ।
छानबिन र कारबाही गर्नका निम्ति बनाइएको कार्यदलबारे निर्णय केही व्यक्तिमाथि प्रतिशोध साँध्नका लागि मात्रै गरिएको भन्दै बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ टिप्पणी गरेका थिए ।