काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनलाई ‘सेफ ल्याण्डिङ’ गर्नु पर्ने बताएका छन् । उनले पाँच दलीय गठबन्धनलाई उडिरहेको जहाजसँग तुलना गर्दै सेफ ल्याण्डिङ गर्नु पर्ने बताएका हुन् ।
स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरणका अवसरमा बोल्दै गुरुङले भने, ‘स्थानीय तहको निर्वाचनका क्रममा पाँच दल एउटै जहाज चड्यौं, जहाज आकाशमै उडिरहेको छ, यसलाई कसरी सुरक्षित अवतरण गर्ने भनेर चिन्ता गरिरहेको बेलामा जहाजभित्रै बसेर झगडा गर्न हुन्न भन्ने मेरो ठहर छ ।’
उनले गठबन्धनलाई जसरी भए पनि सुरक्षित तवरले अवतरण गर्नु पर्नेमा जोड दिए । ‘ल्याण्ड गर्ने बेलामा कसैले कांग्रेस इमान्दार भएन भन्ने कुरा गरिरहेका छन्,’ उनले भने, ‘उडिरहेको जहाजमाथि झगडा सुरु गर्ने काम भइरहेको छ, मिसन पूरा नहुँदै यसरी आरोप प्रत्यारोप गर्नु अपरिपक्व राजनीति हो ।’
उनले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनसम्म गठबन्धन मिलेर जानु पर्ने आशा व्यक्त गर्दै यस्तो बताएका हुन् ।