काँकडभिट्टा- झापा अर्जुनधारा-४ मा गत साता बोराभित्र भेटिएको शव भारतीय नागरिकको भएको खुलेको छ। सो शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइ भएको झापा प्रहरीले जनाएको छ।
भारतीय नागरिकलाई हत्या गरी बोरामा पोको पारेर नजिकैको ह्युम पाइपभित्र फालिएको अवस्थामा स्थानीय बासिन्दाले फेला पारेका थिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा मोड प्रहरीले उनको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा अर्जुनधारा– ७ की ३२ वर्षीया जानुकादेवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी बराहक्षेत्र १० मा २५ वर्षीय सुरेश परियार छन्। उनीहरूलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ। एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाँच लाखको सुपारी दिएर ती व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। सुपारी लिएर बराहक्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।
गुजरात घर भएका मृतकसँग जानुका थापाको भारतमै चिनजान भएको थियो। ०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन्। सोही चिनजानका आधारमा भारतीय नागरिक नरेश कुमार अर्जुनधारा आएका थिए। प्रहरीका अनुसार ५९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए। तारेखकै लागि उनी नेपाल आएको प्रहरीको भनाइ छ।