काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘हामीले सरकार छाडेपछि मात्रै ४९ अर्बको चामल आयात कसरी भयो ?’ ओलीले भने, ‘यस्तो उर्बर देशमा, जम्मा जनसंख्या ३ करोड भन्दा कम छ, त्यस्तो देशमा किन हामी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं ?’
उनले सरकारले उपयुक्त नीति लिन नसक्दा कृषि क्षेत्र धरासायी भएको दाबी गरे । सरकारले मल ल्याउने नसकेको भन्दै उनले आलोचना गरे ।
‘हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन, किन यस्तो हुन्छ ? त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि’ उनले भने, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा जीले संसदमा उभिएर भन्नु भयो, किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिने छ र किसानले मल पाउने छन्, वाणी मिठो थियो, कुरा राम्रो थियो, तर प्रबन्ध कहीँ गरिएको छैन ।’