काठमाडौं- १६ असार बिहीबार बिहानदेखि भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।
जलाशयमा जम्मा भएका ढुंगा निकाल्नको लागि उक्त बाँधका ढोका खोलिएको जानकारी भारतीय पक्षले नेपालको प्रशासनलाई पठाएको छ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाका अनुसार १६ असार बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले पठाएको छ। उक्त बाँधबाट बाहिरिने पानी महाकाली नदी हुँदै तल्लो तटीय क्षेत्रमा बग्छ। दार्चुला प्रशासनले महाकाली किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपील गरेको छ।
यस्तै, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बुधबार राति ‘अलर्ट’ जारी गरेको छ। ‘महाकाली जलाधारका केही स्थानमा बुधबार राति भारी वर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान छ र धौलीगंगामा सिल्ट फ्लसिङका कारण एक्कासी बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहौं,’ महाशाखाले भनेको छ।