काठमाडौं- यौन शोषण गर्न नपाएपछि आफूहरूमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा दुई युवतीले चिनियाँ चिनियाँ लगानीको सिनो हाइड्रो सगरमाथा पावर प्रालिका एक पूर्वकर्मचारीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन्।
सिनो हाइड्रोमै कार्यरत दोलखा र सिन्धुपाल्चोकका ती युवतीले केही समयअघि राजीनामा दिएका अनिल नकर्मीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दर्ता गरेका हुन्। नकर्मीलाई पुनः नियुक्ति दिने तयारी भएपछि दुई युवती कानूनी उपचारमा उत्रिएका हुन्।
वैशाख ०७८ मै दुईमध्ये एक युवतीले नकर्मीविरुद्ध व्यवस्थापनलाई लिखित उजुरी दिएकी थिइन्। त्यसपछि व्यवस्थापनले नकर्मीलाई लिखित स्पष्टीकरण सोधेको थियो। र, चेतावनीसहितको पत्र थमाएको थियो।
मंसिर ०७८ मा फेरि अर्की युवतीले आफूमाथि नकर्मीले यौन दुर्व्यवहार गरेको बताउँदै उजुरी दिइन्। पछिल्लो घटना सार्वजनिक भएपछि व्यवस्थापनको कारवाहीको डरले नकर्मीले २४ पुस ०७८ मा राजीनामा दिए। फेरि उनलाई कम्पनीमा फर्काउन लागिएपछि पीडित दुवै युवतीले प्रहरीमा उजुरी दिएका हुन्।