काठमाडौँ । बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका बासिन्दाले आफूले पाउनु पर्ने मुआब्जाबारे ध्यानाकर्षण गराएका छन् । स्थानीयबासीले आफूहरूले डुबान क्षेत्रको घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा वितरणका क्रममा बेवास्ता गरेको भन्दै ध्यानाकर्षण गराएको हो ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुआब्जा नपाउनेले छिटो पाउनु र मुआब्जा पाएकाले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी थाहा पाउनु डुबानबासीको अधिकार हो, तर बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुन:स्थापना इकाइले डुबानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैरजिम्मेवारीपन हो ।’
यस्तै, उनीहरूले मुआब्जा रकम बैंक खातामा दाखिला भएको १५ दिनभन्दा बढी हुँदा पनि बैैंकले प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको आरोप लगाएका छन् ।