नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउमले झापा बिर्तामोडस्थित बीएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई उपहारमा दिएको सुनको लौरो अहिले चर्चामा छ।
त्यसो त, प्रसाईंले पनि श्री एयरलाइन्सको ८० सिटको जहाज नै चार्टर्ड गरिदिएका छन्, राजकुमारका लागि। बीएन्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेटको सीटी स्क्यान गर्ने मेसिन उदघाटनका लागि राजकुमार मक्तोउम नेपाल आएका हुन्।
त्यसक्रममा शनिबार झापा पुगेका राजकुमारले खुशी हुँदै प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए। यूएई सरकारको सहयोगमा करिब ३५ करोड रुपैयाँको उक्त मेसिन बीएन्डसीले ल्याएको हो। विदेशमा पाँच लाख पर्ने पेटको क्यान्सरको सीटी स्क्यान स्वदेशमै ८० हजार रुपैयाँमा उपलब्ध गराउने प्रसाईंले बताएका छन्।
नेपाल भ्रमणमा आएका राजकुमारलाई प्रसाईंले तीन दिनका लागि श्री एयरलाइन्सको बमबार्डियर जहाज चार्टर्ड गरिदिएका हुन्। सोही जहाजबाट उनी पोखरा पनि पुग्ने छन्। र, पूर्वका प्रमुख पर्यटकीय स्थलमा उनको भ्रमण गराउने प्रसाईंको योजना छ।