काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि भैरहवा विमानस्थलमा अवतरण गराएर इन्धन भरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार काठमाडौंबाट कञ्चनपुर महेन्द्रनगर जाँदै गरेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टर धनगढीसम्म पुग्न इन्धन नपुग्ने भएपछि भैरहवामा अवतरण गराइएको हो।
प्रधानमन्त्रीसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए। उनका अनुसार काठमाडौैंमै धनगढी पुग्न इन्धन अपुग हुने जानकारी थियो। र, भैरहवा उत्रेर इन्धन भर्ने योजना थियो। ‘हेलिकोप्टरमा समस्या आएर अवतरण गराइएको होइन । काठमाडौंमै भैरहवामा इन्धन भर्ने सल्लाह थियो,’ मन्त्री पौडेलले नेपाली हेडलाइनसँग भने। नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थल अधिकारीले पुष्टि गरे।
विमानस्थलमा २० मिनट रोकिएका देउवाले त्यहाँ स्थानीय कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट गरेका थिए। त्यसक्रममा कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक, कांग्रेस रुपन्देही सभापति तथा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगर प्रमुख इस्तियाक अहमद खानलगायत प्रधानमन्त्रीसँग भेट्न विमानस्थल पुगेका थिए। इन्धन भरेपछि प्रधानमन्त्री सवार हेलिकोप्टर महेन्द्रनगर उडेको थियो।