कैलाली- दलका उम्मेदवारहरूलाई पछि पार्दै स्वतन्त्र हैसियतमा कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमाललाई यति बेला नगरवासीका समस्या सुन्ने र समाधानको पहल गर्ने चटारो छ।
उपमहानगरको आगामी वर्षको बजेट, कार्यक्रम, योजनाको तयारी गर्नुपर्ने चटारोका बीच वर्षायाममा देखिन सक्ने डुबानको समाधानका लागि खोलानालामा भएको अतिक्रमण हटाउने अभियान थालेका छन् उनले। अतिक्रमित क्षेत्रमै पुगेर उनले अतिक्रमण हटाउने अभियानको नेतृत्व गरिरहेका छन्।
‘खोलानालामा भएको अतिक्रमण हटाउने एजेन्डा यसपालिको जनादेशको म्यान्डेड हो, यसलाई अभियानकै रूपमा लिएका छौँ,’ प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका प्रमुख हमालले भने, ‘प्राकृतिक खोलानालालाई प्राकृतिक रूपमै बग्न दिने व्यवस्था गर्दैछौं। यो काममा आगामी वर्षदेखि बजेटको व्यवस्थासमेत गर्दैछौं।’
हमालले नवनिर्वाचित वडाध्यक्ष, सदस्यका साथै नगरवासीको अभूतपूर्व साथ र सहयोग मिलेको बताए। सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांश नगरवासीले अतिक्रमण हटाउने अभियानको प्रशंसा गरेका छन्। धनगढी तारानगरका प्रकाशराज भट्टले नगर प्रमुखमा निर्वाचित भएपछि हमालले एउटा ऐतिहासिक, साहसिक र धनगढीवासीको वर्षौंदेखिको आवाजलाई सम्बोधन गर्ने कामको थालनी गरेको बताए।
उपमहानगर क्षेत्रमा वर्षायाममा डुबानको विकराल समस्या देखिने गरेकाले यसको समाधानका लागि खोलानाला मिचेर बनाइएका संरचना हटाउने अभियान थालिएको हो।
उपमहानगरले फोहोरले पुरिएका मुख्य सडक दायाँबायाँका पक्की नालीको सरसफाइलाई तीव्रता दिएको छ। नालीमा थुप्रिने फोहोरले पानी र ढल निकास बन्द भई वर्षायाममा मुख्य सडक नै जलमग्न हुने समस्या छ।
उपमहानगर क्षेत्रमा खोलानाला मिचेर बनाइएका संरचना हटाउन विगतमा पटक–पटक निर्णय गरिए पनि कार्यान्वयन शून्य थियो।
कुनै योजनाविना शहरका रूपमा विकास हुँदै गएको धनगढीमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा स्तरोन्नति, फोहोरमैला व्यवस्थापन, अव्यवस्थित बसोबास मुख्य समस्या बन्दै आएका छन्।
उपमहानगर क्षेत्रको उत्तरबाट दक्षिण हुँदै बग्ने कैलाली खोला, सुकुटी नालालगायतमा जग्गा मिचेर संरचना बनाउँदा ती खोलाको प्राकृतिक मार्ग बन्द भई वर्षायाममा डुबानको समस्या हुने गरेको छ। खासगरी उपमहानगरको वडा नम्बर १, २, ३, ४, ५, ७ र ८ मा डुबानको मुख्य समस्या छ। मोहना नदीको कटानबाट वडा नम्बर २ र ३ मा पर्ने नदी छेउको बस्ती बढी प्रभावित हुने गरेको छ।
राससबाट