काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । नेकपा एसका उम्मेदवार दीपककुमार गौतम विजयी भएका हुन् ।
धुलिखेलमा सम्पन्न निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन् । यस्तै, सदस्यमा नेकपा माओवादी केन्द्रका कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मंगलबहादुर तामाङ विजयी भएका छन् । विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् ।
काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख÷अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो ।
कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो ।