काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले रातारात भन्सारको दर हेरफेर गरेको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्रीले आफ्नो प्रतिनिधिमार्फत रातारात भन्सारको दर हेरफेर गर्न लगाएको आरोप लगाएका हुन् । जसले गर्दा विद्युतीय गाडीमा अन्त शुल्क र भन्सार महसुल बढेको बताए ।
‘आज हामीले सनौँ, जेठ १४ गते मध्य रातमा कसरी भन्सारको दरहरू, राजस्वका दरहरू कसरी हेरफेर भए भन्ने कुरा आजका सञ्चार माध्यमहरूले बडा प्रमुखताका साथ समाचार छापेका छन्,’ उनले भने, ‘आफ्ना उच्च पदस्थ कर्मचारीलाई प्रतिनिधि चिनाउँदै भन्सार तथा राजस्वको दरमा केही मेरो तर्फबाट गर्नुहुन्छ भन्नु भो, त्यसपछि भन्सार र राजस्वको दर रातारात हेरफेर भयो ।’
सचिव भट्टराईले अर्थमन्त्रीको कार्यालयमा चाउचाउले तहल्का मच्चाएको आरोप लगाए । उनले भने, ‘म चाउचाउ नखानु त भन्दिन, तर हाम्रो अर्थ मन्त्रालयमा रातारात चाउचाउले तहल्का मच्चायो सभामुख महोदय !’
उनल राज्यको गोपनीयता रातारात सार्वजनिक गर्ने कामले उद्योग व्यवसाय धारासायी बनेको आरोप लगाए । उनले अर्थमन्त्रीले संसदमा रातारात भएको काम कारबाहीबारे स्पष्टिकरण माग गरेका छन् ।