काठमाडौं- नेपाल प्रहरीका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले बुधबार दर्ज्यानी चिह्न लगाएका छन्।
Advertisement
उनीहरूलाई सरकारले २३ जेठमा डीआईजीबाट एआईजी बढुवा गरेको थियो। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बढुवा भएका एआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका एआईजीहरूलाई बधाइ दिँदै प्राथमिकता छुट्याएर नवीन कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन दिए। पदोन्नति भएका एआईजीहरूको तर्फबाट एआईजी सुवेदीले आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रहरी संगठन, देश र नागरिकको सेवामा उच्च मनोबल, नयाँ जोश जाँगर र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।