काठमाडौं– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ ।
बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
गत आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटना मात्रै निकुञ्जभित्र भएका हुन् । वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्र मात्रै भएका हुन् ।
वनमा न्युरो, घाँस, दाउरा गर्न जानेहरु आक्रमणको शिकार बन्ने गरेका छन् । निकुञ्जमा हालै गएको फागुनमा बाघ गणना गरिएको थियो । बाघको तथ्याङ्क सार्वजनिक भइसकेको छैन ।
अगामी बाघ दिवस २९ जुलाईमा सङ्ख्या सार्वजनिक गरिँदैछ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ थियो ।
बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । सङ्ख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको सुचना अधिकारी तिवारीले बताए ।
बाघका सम्बन्धमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताएका छन् । बच्चा हुर्काउँदै गरेको बाघले पनि आक्रमण गर्ने सम्भावना बढी हुने उनको भनाइ छ ।
लामिछानेको भनाइमा बाघको सङ्ख्या बढेपछि निकुञ्जको भित्री भागसँगै मध्यवर्ती र वरपरका जङ्गल क्षेत्रमा पनि बाघले बासस्थान बनाउन थालेको छ । ती क्षेत्रहरुमा पूर्ववत् अवस्थामा स्थानीयहरु घाँस दाउरा गर्न जाँदा घटना हुने गरेको उनको तर्क छ ।