पालिका चुनावमा भ्रातृ संगठनविना चुनावमा गएको कांग्रेस अब प्रदेश र संघीय चुनाव नजिकिदै गर्दा पनि मौन छ।
निर्वाचनको समयमा पार्टीको प्रचार–प्रसारमा भ्रातृ संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। तर, पालिका चुनावमा भ्रातृ संगठनलाई चलायमान बनाउन कांग्रेसले ध्यान दिएन। बरु प्रचार–प्रसार समिति गठन गरेर आफ्ना कार्यकर्तालाई परिचालन गरेको थियो।
गत ३ फागुनमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयसम्म महाधिवेशन हुन नसकेर म्याद सकिएका १० वटा भ्रातृ तथा शुभेच्छुक संस्था भंग गरेको थियो। फागुन मसान्तमा फेरि भंग गरिएका भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको थियो। ती तदर्थ समितिको काम तीनै तहको चुनाव सकिएको तीन महिनाभित्र केन्द्रीय अधिवेशन गर्नुपर्ने निर्णय कांग्रेसको थियो।
म्याद सकिएको भन्दै नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाली आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघको म्याद सकिएको भन्दै भंग गरेको थियो।
कांग्रेसले भंग गरेका १० भ्रातृ संगठनमध्ये नेविसंघ र तरुण दलको अध्यक्ष भने ९ चैतमा नियुक्त गरेको थियो। तर, अहिलेसम्म यी दुई भ्रातृ संघले पनि पूर्णता पाउन सकेका छैनन्। अन्य भ्रातृ संगठनको तदर्थ समिति कहिले आउने हो भन्ने अत्तोपत्तो छैन।
तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरसम्म संघर प्रदेशको चुनाव गराउने बताउँदै आएका छन्। अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने प्रदेश र संघीय चुनावमा पनि कांग्रेस भ्रातृ संस्थाविना जाने देखिन्छ।
पालिका चुनावमा पहिले नै गठन हुने निर्णय भएको भए पनि विभिन्न कारणवस हुन नसकेकाले अब चाँडै गठन र विस्तार हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महत बताउँछन्। भन्छन्, ‘सभापतिले चाँडै गर्छु भन्नुभएको छ। अब चाँडै हुन्छ।’
आफूलाई मुलुककै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनहरूको महाधिवेशन २–२ वर्षमा हुनुपर्ने सबैका विधानमा उल्लेख छ। तर, भ्रातृ एवं शुभेच्छुक संगठनहरूको महाधिवेशन वर्षौंदेखि गर्न सकेको छैन, कांग्रेसले।
भातृ संगठनको महाधिवेशन समयमा नहुने कांग्रेसको पुरानै रोग हो, जुन अद्यापि कायम छ। विधानअनुसार समयमा महाधिवेशन नहुँदा र वर्षौंसम्म एउटै नेतृत्वबाट भातृ संस्थाहरू सञ्चालन भइरहँदा पार्टीभित्रै चर्को आलोचनासमेत हुने गरेको छ।
कांग्रेस सह–महामन्त्री बद्री पाण्डे पनि अब भातृ र शुभेच्छुक संगठनहरूको नेतृत्वको तयारी हुने बताउँछन्। ‘अहिले पालिका चुनावपछि पनि सबै नेताहरू आ–आफ्ना जिल्लामा व्यस्त छन्। सबै नेता जिल्लाबाट काठमाडौं आएपछि छलफल अगाडि बढ्छ,’ उनी भन्छन्।
पालिका चुनाव समीक्षा गर्ने गरी पनि कांग्रेसले अहिले कुनै बैठक बोलाएको छैन। ‘पदाधिकारी, कार्यसम्पादन कसैको पनि बैठक बसेको छैन। त्यस कारण कुनै काम अहिलेसम्म अगाडि बढेको छैन,’ पाण्डे भन्छन्, ‘अब बस्ने बैठकमा यी सबै विषयमा छलफल हुनेछ।’