काठमाडौं- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारमा पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा पुगेको बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा आइतबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रमा बोल्दै उनले आफू नेतृत्वको सरकार हटेपछि मुलुक पैसाबाहेक अरू केही पनि नसोच्नेको हातमा पुगेको आरोप लगाए।
नेपालका हिमालले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको उनको दाबी थियो।
‘कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरू। पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेपछि के को, वातावरण के को के ? त्यो सबै टुंगियो कुरा,’ उनले भने, ‘त्यसकारण अहिले यी सब कुराहरूतिर सरकारका मान्छेहरूलाई ध्यान भएको मलाई थाहा छैन। केही रुचि छ कि छैन, नलेज छ कि छैन। उहाँहरू हेर्नु हुन्छ कि हुन्न ? मैले देखेको के हो भने–ब्युरोक्र्याट्सले ड्राफ्ट गरिदिएका फर्म्याटभित्रका स्टेटमेन्ट बाचन गरिदिनेसम्मको खालको स्थिति बनेको देख्छु। त्यसबाट हामीले अलिमाथि उठ्न जरुरी छ र हामी हरेक नागरिक यसमा सजग हुन जरुरी छ।’