काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयभन्दा बढी लाभान्वित भएका छन् ।
म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो । म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँका अनुसार शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि तथा १०५ जनालाई चस्मा वितरण गरिएको थियो ।
शिविरमा नेत्र ज्योति संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताए ।
म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सहआयोजना तथा नेपाल नेत्र ज्योति संघ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरबाट वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् ।