अझै केही दिन देशको अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागका मौसमविद् राजु प्रधानांगले बताए।
उनका अनुसार प्रि–मनसुन सक्रिय हुनुका साथै स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहारआसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावसमेत छ, नेपालमा अहिले। ‘यी प्रणालीको प्रभाव मनसुन भित्रिएपछि मात्र कमजोर हुने देखिएको छ,’ मौसमविद् प्रधानांगले भने।
मनसुन भित्रिने औसत समय १३ जुनलाई मानिन्छ। राति प्रदेश–१, मधेश प्रदेशका थोरै स्थान तथा वागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश–१, वागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.६ डिग्री र अधिकतम तापक्रम २६.६ डिग्री सेल्सियस छ। यस्तै, बुधबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ११.७ डिग्री र सबैभन्दा धेरै दिपायलमा अधिकतम तापक्रम ३८.९ डिग्री सेल्सियस छ।
राससबाट