अस्ट्रेलियाको लेबर पार्टीको नयाँ सरकारले बुधबार सपथ ग्रहणपछि कार्यभार सम्हालेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो ३० सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। मन्त्रिमण्डलमा १३ जना महिला मन्त्री छन्। र, त्यसमा मुस्लिम महिला पनि पहिलोपटक अस्ट्रेलियाको मन्त्रिपरिषदमा समेटिएकी छन्।
आफ्नो पार्टीको विजयको ११ दिनपछि राजधानी क्यानबेरामा गभर्नर जनरल डेभिड हर्लीले नयाँ मन्त्रिमण्डललाई सपथ ग्रहण गराएका छन्। ‘विविधताले भरिपूर्ण अस्ट्रेलियामा यो समावेशी सरकारप्रति हामीलाई गर्व छ,’ प्रधानमन्त्री अल्बानिजले ट्विट गरेका छन्, ‘लेबर पार्टीको सरकारका सबै नयाँ सदस्यलाई स्वागत छ।’
उनको मन्त्रिमण्डलमा एने अली अस्ट्रेलियाको पहिलो मुस्लिम महिला मन्त्री बनेकी छन्। उनलाई युवा मन्त्रालयको जिम्मा दिइएको छ। एद ह्युसिक मुस्लिम समुदायबाट अर्का मन्त्री हुन्, जसलाई उद्योग मन्त्री बनाइएको छ। वेस्टर्न सिडनीबाट सांसद बनेका एद ह्युसिक पनि अस्ट्रेलियाको पहिलो मुस्लिम पुरुष मन्त्री बनेका छन्।