इरानको सेनाले भूमिगत रूपमा लुकाएर राखिएका शक्तिशाली ड्रोनहरू बारे जानकारी सार्वजनिक गरेको छ। तर, ती ड्रोन कहाँ बनाइएका हुन् भन्ने जानकारी दिएको छैन।
इरानी सरकारी टेलिभिजन च्यानललाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार जागरोस नामक पहाडी इलाकामा राखिएका एक सयवटा ड्रोनबारे सेनाले जानकारी दिएको हो।
ती ड्रोनमध्ये अबाबिल–५ पनि सामेल छ, जसमा कायम–९ नामक मिसाइल जगान गर्न सकिन्छ। यो मिसाइल अमेरिकाको हेलफायरको इरानी भर्सन हो।
‘यसमा कुनै शंका छैन, इरानी सशस्त्र बलहरूका ड्रोन यस क्षेत्रमै सबैभन्दा शक्तिशाली छन्। यी ड्रोनलाई अपग्रेड गर्ने हाम्रो क्षमतालाई कसैले रोक्न सक्दैन,’ इरानी सैनिक कमान्डर मेजर जनरल अब्दुलारहिम मोसाबीले भने।
इरानी सरकारी टेलिभिजनका संवाददाता इरानको पश्चिमी शहर कर्मनशाहबाट ४५ मिनटको उडानमा ती ड्रोनहरू राखिएको गोप्य स्थलमा पुगेका थिए। तर, उनलाई आँखामा पट्टी बाँधेर लगिएको थियो। र, ड्रोनहरू राखिएको स्थान मात्र देखाइएको थियो।