अर्थमन्त्री जनार्दन शर्माले आगामी आव ०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
त्यसमा चालु खर्चतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात ४२ प्रतिशत विनियोजन गरेका छन्।
यस्तै, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात २१.२ प्रतिशत छुट्याएका छन्।
वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात २४ प्रतिशत विनियोजन गरेका छन्।
उक्त बजेटको स्रोत राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ उपलब्ध हुने मन्त्री शर्माको दाबी छ। र, वैदेशिक सहायताबाट ५५ अर्ब ४६ करोड प्राप्त हुने उनले जनाएका छन्। कुल विनियोजनमा चार खर्ब ५८ अर्ब न्यून हुने उनले उल्लेख गरे।
न्यून हुने उक्त बजेट पूर्तिका लागि वैदेशिक अनुदान र ऋणबाट दुई खर्ब ४६ अर्ब रुपैयाँ प्राप्त हुने अर्थमन्त्रीको भनाइ छ। वैदेशिक अनुदान र ऋण परिचालन गर्दा नपुग हुने दुई खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट जुटाइने उनले उल्लेख गरेका छन्।