बेलायतमा रुसका राजदूत (उच्चायुक्त) ले युक्रेन युद्धमा आफ्नो मुलुकले परमाणु हतियार प्रयोग नगर्ने बताएका छन्।
रुसी उच्चायुक्त आन्द्रे केलिनले युक्रेन युद्धमा परमाणु हतियारको प्रयोग रुसी सेनाको नियमविरुद्ध हुने स्पष्ट गरे। बीबीसीसँगको कुराकानीमा उच्चायुक्त केलिनले युक्रेन युद्धमा परमाणु हतियारको प्रयोग हुनै नसक्ने बताएका हुन्।
उनका अनुसार रुसमा यस्ता हतियारको प्रयोगमाथि कडा प्रावधान छ। देशको अस्तित्व नै खतरामा पर्दा मात्र रुसले परमाणु हतियार प्रयोग गर्न सक्छ। ‘युक्रेन युद्धमा परमाणु हतियारको कुनै लेनादेना छैन,’ उनले प्रष्ट्याए।
युक्रेनमाथि सैन्य आक्रमण शुरु गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी अन्तिमदेखि आफ्नो न्युक्लियर फोर्सलाई ‘हाई अलर्ट’मा राखेका छन्। त्यसलाई संसारले चेतावनीको रूपमा हेर्दै आएको छ। रुससँग करिब दुई हजार सामरिक परमाणु हतियार रहेको अनुमान छ।