भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ।
वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्याबारेमा छलफल हुनेछ। प्रधानमन्त्री शेहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार नयाँदिल्ली पुग्ने तथा दुवै पक्षले सिन्धु जल सन्धिका प्रमुख परियोजनामा छलफल गर्नेछन्।
दुवै पक्षले बाढीको अग्रिम सूचना र सिन्धु जलस्रोत स्थायी आयोगको वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछन्। त्यसैगरी सिन्धु जल सन्धिको धारा ९ अन्तर्गत एक हजार मेगावाटको पाकल दुल, ४८ मेगावाटको तल्लो कालनाई र ६२४ मेगावाटको किरु आयोजना निर्माणबारे विचारविमर्श गर्ने अपेक्षा गरिएको छ।
पाकिस्तानी प्रतिनिधिमण्डल वाघा नाका हुँदै नयाँदिल्ली पुग्ने सोमबार र मङ्गबार भारतीय अधिकारीहरूसँग बैठक सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम छ। पाकिस्तानी आयुक्त सैयद मेहर अली शाहको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार भारत प्रस्थान गर्नेछ।