वीरगञ्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंहले सपथ ग्रहण गरेसँगै वर्षाैदेखि जीर्ण घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन्।
वर्षाैँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपिरहेका नगरवासीलाई परिवर्तनको प्रत्याभूति दिलाउन सिंहले बिहीबार सपथ ग्रहणपछि पद बहाल गरेलगत्तै मुख्य सडकलाई मर्मत गर्ने निर्णय गरेका हुन्।
वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकार क्षेत्रभित्र नरहेको बताउँदै आएका थिए। तर, सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले उक्त सडकलाई मर्मत गर्ने निर्णय गरेका छन्।
यस्तै, मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९२४ घरधुरीको घरेलु मिटर (ग्राहस्थ मिटर) मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन्।
पाँचदलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो। यद्यपि, ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शुल्क आफैँ तिनुपर्नेछ। योजना ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीका लागि मात्र भएको निर्णयमा खुलाइएको छ।
यस्तै, महानगरभित्र रहेका ४७० वटा कृषि मिटर (सिँचाइ मिटर) को सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन्। कृषकको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रतोसाहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए।
घरेलु र कृषिबाहेक व्यावसायिक, मनोरञ्जनात्मक र अन्य प्रयोजनका लागि मिटर लिएकाहरू भने उक्त योजनाबाट लाभान्वित हुने छैनन्।
सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभूति गराउने सिंहको प्रतिबद्धताअनुरुप नगरवासीले अब विद्युत महशुल र सिँचाइ मिटरको शुल्क तिर्नु नपर्ने भएको छ। ती निर्णय १ साउनदेखि कार्यान्वयन हुने छन्।