बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको पनि मुआब्जा वितरण शुरु भएको छ। आयोजना नेपाल सरकार आफैंले गर्ने निर्णय १० जेठको मन्त्रिपरिषदले गरेको छ।
आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना एकाइले प्रभावितको खातामा धमाधम रकम राखिदिन थालेको छ। पहिलो चरणमा करिब आठ सय लाभग्राहीको खातामा एक अर्ब ७० करोड रुपैयाँ राखिएको छ।
मुआब्जा वितरण गर्न चालु आर्थिक वर्ष ०७८–७९ मा सात अर्ब रुपैयाँ विनियोजन भएको छ। र, असार मसान्तसम्ममा करिब साढे ६ अर्ब वितरण भइसक्ने अनुमान छ।
उक्त आयोजनाअन्तर्गत हालसम्म ४८ हजार ९४९ रोपनीका लागि ३४ अर्ब ६ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ। पछिल्लो चरणमा डुबानमा पर्ने ३० प्रजातिका चार लाख ६३ हजार १४९ फलफूलको पनि मुआब्जा वितरण हुँदैछ। आँप, केरा, निबुवा, सुन्तला, नास्पाती, अनार, सजीवन, लिची, भोगटे, मेवा, भुइँकटहर, मौसम, हलुवावेद, आरु, आरुबखडा, निमपत्ता, जाइफल, तेजपत्ता, अमलालगायत फलफूलको पनि मुआब्जा पाउँदै छन्, प्रभावित क्षेत्रका बासिन्दाले।
यस्तै, ४९ प्रजातिका तीन लाख ६२ हजार ५६३ वटा रुखको मुआब्जा निर्धारण गरिएको छ। त्यसमा साल, सिसौ, खयर, उत्तिस, सल्लो, हर्रो, बर्रो, चिलाउनेलगायत छन्।
यो पनि पढ्नुहोस्