स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयात प्रतिस्थापन गर्ने नयाँ मोडेल ल्याएको छ। गाउँपालिकाले ग्यास आयात रोक्न पालिकाभर इन्डक्सन चुलो निःशुल्क वितरण गर्ने भएको छ।
Advertisement
खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको बेलामा कालीगण्डकी गाउँपालिकाले विद्युत प्रयोग बढाउने उपाय निकालेको हो।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन्। आगामी गाउँसभाबाट पारित गराएर आफ्नो निर्णय कार्यान्वयन गराउने उनले बताए।
देशकै ठूलो कालीगण्डकी जलविद्युत आयोजना यही पालिकामा पर्छ। उनको निर्णय कार्यान्वयन हुँदा पालिकाका करिब चार हजार ६०० घरधुरी लाभान्वित हुने छन्।
यसअघि पनि कालीगण्डकी गाउँपालिकाले पालिकाका बासिन्दालाई २० युनिटसम्म बिजुली निःशुल्क दिएको थियो। थापा दोस्रोपटक पालिका अध्यक्ष निर्वाचित भएका हुन्।