काठमाडौं- पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको एमाले महासचिव शंकरको पोखरेलको विज्ञप्तिको कांग्रेसले सोमबार दिएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलनमार्फत चुनावमा सत्ता गठबन्धनले नभई एमालेले चाहीं धाँधली गरेको बताए।
‘सरकारले सम्पूर्ण बन्दोबस्त गर्दागर्दै पनि प्रतिस्पर्धी एमालेका केन्द्रीय तहका नेताहरूकै संलग्नता तथा निर्देशनमा बाजुराको बुढीगंगा नगरपालिकामा बाहुबलको प्रयोग गरी वडा नम्बर २,३, ५ र ९ का कांग्रेसका उम्मेदवार र प्रतिनिधिमाथि आक्रमण गर्ने, मतदान केन्द्रबाट लखेट्ने, बन्धक बनाउने, बुथ कब्जा गरी फर्जी मत हाल्ने र राजीनामा दिएर फर्किएका निर्वाचन अधिकृतलाई फर्जी मत हालिएका मतपेटिका बुझ्न बाध्य पारेपछि त्यहाँ पुनः मतदानको व्यवस्था गर्न कांग्रेसले निर्वाचन आयोग समक्ष माग गरेको छ,’ महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा निर्वाचन आयोगलाई तत्काल निर्णय गरी ती वडाहरूमा पुनः मतदान गर्न नेपाली कांग्रेस पुनः जोडदार माग गर्दछ। साथै उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना रोकिएको छ। यसमा छिटो निर्णय गर्न हामी निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछौं।’