कैलाली । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण दार्चुलाको शैलेशिखर नगरपालिका–६ स्थित पनेबाज क्षेत्रमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरोका कारण यातायात सेवा प्रभावित बनेको छ भने यात्रुहरू बीच बाटोमै रोकिन बाध्य भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको छ। उनका अनुसार नगरपालिका, सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरी पहिरो पन्छाउने काम जारी रहेको छ।
प्रहरीले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उक्त सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन तथा वैकल्पिक व्यवस्था गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
लगातारको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा पहिरो खस्ने जोखिम बढेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।
