हुम्ला- हिन्दुहरूको आस्थाको केन्द्र मानिने पवित्र कैलाश–मानसरोवर यात्रा सुरु भएसँगै हुम्लाको सिमिकोट यतिबेला धार्मिक पर्यटकले भरिभराउ बनेको छ। नेपाल र भारतबाट आएका सयौं तीर्थयात्री मानसरोवर जाने क्रममा सिमिकोटमा ओइरिएपछि विमानस्थलदेखि होटलसम्म चहलपहल बढेको छ।
सिमिकोट विमानस्थलमा यात्रु ओसारपसार गर्ने हेलिकप्टरहरू लगातार उडानमा व्यस्त छन्। मौसम अनुकूल भएका बेला बिहानैदेखि साँझसम्म हेलिकप्टरले यात्रुलाई हिल्सा पुर्याइरहेका छन्। कैलाश–मानसरोवर यात्राका लागि नेपालगञ्ज हुँदै सिमिकोट पुग्ने मार्ग अहिले सबैभन्दा व्यस्त बनेको छ।
यात्रुको चाप बढेसँगै सिमिकोटका अधिकांश होटल भरिभराउ भएका छन्। होटल व्यवसायीहरूका अनुसार केही दिनयता कोठा खाली हुनासाथ पुनः बुक हुने अवस्था छ। कतिपय यात्रुले अग्रिम बुकिङ नगर्दा बस्नसमेत कठिनाइ हुने गरेको छ।
स्थानीय व्यवसायीका अनुसार मानसरोवर यात्राको मौसम हुम्लाको पर्यटन अर्थतन्त्र चलायमान बनाउने मुख्य समय हो। होटल, रेस्टुरेन्ट, गाइड, पोर्टर तथा स्थानीय व्यापारमा समेत यसको सकारात्मक प्रभाव देखिएको छ।
सिमिकोट हुँदै हिल्सा पुगेर त्यहाँबाट तिब्बत प्रवेश गर्ने मार्ग हाल कैलाश–मानसरोवर यात्राको प्रमुख र लोकप्रिय मार्गका रूपमा प्रयोग हुँदै आएको छ।