काठमाडौं- आज २ जुलाई। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १८४३- आकाशबाट खस्यो गोही
सन् १८४३ मा आजकै दिन अमेरिकामा अनौठो घटना भएको थियो। एक गोही दक्षिण क्यारोलिनाको चार्ल्सटनमा आएको आँधीको दौरान आकाशबाट जमिनमा खसेको थियो। आँधीले समुद्रबाट उक्त गोही उडाएर शहरको बीचमा खसालेको अनुमान गरिएको थियो।
– सन् १९००- जेपलिनको पहिलो उडान
उड्डयन इतिहासमा पहिलोपटक आजकै दिन जेपलिन मोडलको जहाजको पहिलो उडान भएको थियो। जर्मनीको लेक कन्स्ट्यान्सको आकाशमा उक्त उडान भएको थियो। उक्त जहाजलाई त्यसका आविष्कारक काउन्ट फर्डिनान्ड भोन जेपलिनको नाम दिइएको थियो। उनी जेपलिन एयरसिप कन्स्ट्रक्सन कम्पनीका संस्थापक थिए। उक्त जहाजलाई जर्मनीको वायु सेनाले प्रथम विश्वयुद्धको दौरान व्यापक प्रयोग गरेको थियो।
– सन् २००१- विश्वको पहिलो स्वनिहित मुटु प्रत्यारोपण
सन् २००१ मा आजकै दिन अमेरिकाका ५९ वर्षीय रोबर्ट एल टुल्सले विश्वमै पहिलोपटक स्वनिहित मुटु प्रत्यारोपण गराएका थिए। उनले अमेरिकाको केन्टकी लुइसभिल्लेस्थित यहुदी अस्पतालमा कृत्रिम मुटु प्रत्यारोपण गरेका थिए।
– सन् २००२- अमेरिकी व्यवसायीले पूरा गरे बेलुनबाट विश्व परिक्रमा
सन् २००२ मा आजकै दिन अमेरिकी व्यवसायीले स्टिभ फोसेटले बेलुनमार्फत एक्लै विश्व परिक्रमा पूरा गरेका थिए। उनले छैटौंपटकमा विश्व परिक्रमा पूरा गरेका थिए। उनलाई त्यसका लागि १३ दिन लागेको थियो। ‘स्पिरिट अफ प्रिडम’ नाम दिइएको परिक्रमाका क्रममा उनले ३२ हजार १८६ दशमलव ८८ किलोमिटर यात्रा गरेका थिए।
– सन् २०१०- तेल ट्यांकर विष्फोटबाट मारिए २३०
अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा आजकै दिन तेल ट्यांकर विष्फोट हुँदा आसपासमा रहेका २३० जनाको मृत्यु भएको थियो। साउथ किभु भन्ने स्थानमा उक्त घटना भएको थियो।
– सन् २०१६- इराक विष्फोटमा गयो सवा सयको ज्यान
सन् २०१६ मा आजकै दिन इराकको राजधानी बगदादमा भएको विष्फोटमा परी १२५ जना मारिएका थिए। अन्य डेढ सयजना घाइते भएका थिए। इस्लामिक स्टेट नामक अन्तर्राष्ट्रीय आतंकवादी सञ्जालले एक लरीमा बम राखेर विष्फोट गराएको थियो।
– सन् २०२०- खानीमा पुरिएर मारिए १६० मजदुर
सन् २०२० मा आजकै दिन खानीमा पुरिएर म्यानमारमा १६० जना मजदुरको ज्यान गएको थियो। म्यानमारको उत्तरी क्षेत्रस्थित हपाकान्टमा उक्त घटना भएको थियो।
– सन् २०२४- उत्तरप्रदेशको भागदौडमा मारिए १२१
सन् २०२४ मा भारत उत्तरप्रदेशको हथ्रास जिल्लामा भएको भागदौडमा परी १२१ जनाले ज्यान गुमाएका थिए। मारिनेमध्ये अधिकांश महिला र बालबालिका थिए। एक धार्मिक भेलामा भागदौड मच्चिएको थियो।
– सन् २०२५- दलाई लामाले घोषणा गरे अर्को पुनर्जन्म
तिब्बती धार्मिक नेता दलाई लामाले आजकै दिन आफ्नो पन्ध्रौं पुनर्जन्म हुने घोषणा गरेका थिए। हालका तेन्जिन ग्यात्सो दलाई लामाका १४औं अवतार मानिन्छन्। उनले आफ्नो मृत्युपछि पन्ध्रौं अवतार जन्मिने घोषणा गरेका हुन्। चीनले भने चिनियाँ भूमिमै पन्ध्रौं दलाई लामाको पुनर्जन्म हुने बताउँदै आएको छ। दलाई लामाले भने आफ्नो पुनर्जन्म कहाँ हुन्छ भनेर खुलाएका छैनन्।