काठमाडौं- आज ३० जुन। विश्व इतिहासमा भएका असंख्य घटनाले आजको दिनलाई विश्वभर स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये संसारभर चर्चा कमाएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९०५- आइन्स्टाइनको सापेक्षताको सिद्धान्त प्रस्तुत
विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सन् १९०५ मा आजकै दिन विशेष सापेक्षताको सिद्धान्त रेखांकित गर्दै एक पेपर प्रस्तुत गरेका थिए। ‘जुर इलेक्ट्रोडाइनामिक बेवेगटर कोर्पर’ शीर्षकको उक्त पेपरमा अन्तरिक्ष र समयबीचको सम्बन्धका बारेमा वर्तमानमा स्वीकृत सिद्धान्त सामेल थियो। विशेष सापेक्षताको सिद्धान्त आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तको आधार हो, जुन उनले सन् १९१६ मा प्रकाशित गरेका थिए।
– सन् १९०८- क्षुद्रग्रहले ध्वस्त बनायो साइबेरियाको जंगल
सन् १९०८ मा आजकै दिन साइबेरियाको तुंगुस्का क्षेत्रको २ हजार वर्गकिलोमिटर जंगल क्षुद्रग्रह खसेका कारण ध्वस्त भएको थियो। आधुनिक इतिहासमा यसलाई सबैभन्दा ठूलो अप्रत्यासित घटना मानिन्छ।
– सन् १९३७- विश्वको पहिलो इमर्जेन्सी नम्बर
सन् १९३७ मा आजकै दिन विश्वको पहिलो इमर्जेन्सी नम्बर बेलायतको राजधानी लन्डनमा सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको इमर्जेन्सी टेलिफोन नम्बर थियो- ९९९।
– सन् १९७१- सोयुजका ३ अन्तरिक्ष यात्रीको दुःखद निधन
वायु आपूर्ति बन्द भएका कारण सन् १९७१ मा तत्कालीन सोभियत संघको अन्तरिक्ष यान ‘सोयुज-११’मा सवार ३ अन्तरिक्ष यात्रीको दुःखद निधन भएको थियो। फल्टी भल्भका कारण उक्त घटना भएको थियो। यानमा सवार अन्तरिक्ष यात्रीहरूले यानलाई स्पेस स्टेसनमा जोडेर रेकर्ड राखेका थिए।
– सन् १९७२- पहिलो लिप सेकेन्ड जोडियो यूटीसीमा
सन् १९७२ मा आजकै दिन पहिलो लिप सेकेन्डलाई ‘कोअर्डिनेटेड युनिभर्सल टाइम (यूटीसी)’मा जोडिएको थियो। धर्तिको स्लोइङ रोटेसनलाई ध्यानमा राख्दै यूटीसीमा लिप सेकेन्ड जोडिन्छ। यूटीसी संसारभर स्थानीय समयको गणनाको आधार हो।
– सन् २०११- विश्वकै लामो हाइस्पिड रेल पुल
सन् २०११ मा आजकै दिन चीनमा विश्वकै लामो हाइस्पिड रेल पुल उदघाटन गरिएको थियो। ‘डान्याङ-कुन्सान ग्रान्ड ब्रिज’को लम्बाई १६४.८ किलोमिटर छ। उक्त पुलले बेइजिङ र सांघाईबीच सञ्चालित हाइस्पिड रेलमार्गलाई जोड्छ।
– सन् २०१५- इन्डोनेसियामा सैनिक विमान दुर्घटनामा गयो ११६ को ज्यान
सन् २०१५ मा आजकै इन्डोनेसियामा सैनिक विमान दुर्घटनामा ११६ जनाको ज्यान गएको थियो। हर्कुलस ट्रान्सपोर्टर विमान मेडान नामक ठाउँबाट उडान भरेको केही समयमा दुर्घटनामा परेको थियो।
– सन् २०१९- ट्रम्प पुगे उत्तरकोरिया
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१९ मा आजकै दिन उत्तर कोरिया पुगेका थिए। उत्तर र दक्षिण कोरियाबीचको डिमिलिटराइज्ड जोनमा पुगेर उनले उत्तर कोरियाली नेता किम जोङ-उनसँग भेटवार्ता गरेका थिए। उत्तर कोरिया भ्रमणमा जाने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्।
– सन् २०२२- विश्वकै धनी शहर न्युयोर्क
सन् २०२२ मा आजकै दिन अमेरिकाको न्युयोर्कलाई विश्वकै धनी शहर घोषित गरिएको थियो। त्यतिबेला न्युयोर्कमा ३ लाख ४५ हजार अर्बपति र ५९ जना खर्बपति पुगेका थिए। जापानको टोकियो र अमेरिकाकै सान फ्रान्सिस्को क्रमशः दोस्रो र तेस्रो धनी शहर घोषणा भएका थिए।
– सन् २०२३- ३२० वर्षपछि बन्द भयो अस्ट्रियाको अखबार
सन् २०२३ मा आजकै दिन युरोपेली मुलुक अस्ट्रियाको अखबार ‘विनर जैटुङ’ ३२० वर्षपछि बन्द भएको थियो। पूर्ण रूपमा अनलाइन संस्करण अपनाउँदै अखबारको प्रिन्ट संस्करण बन्द गरिएको थियो। अन्तिम प्रिन्ट संस्करणमा अखबारले मुख्य समाचार बनाएको थियो, ‘३२० वर्ष, १२ राष्ट्रपतिहरू, १० सम्राटहरू, २ गणतन्त्र, १ अखबार’।
– सन् २०२४- ‘इन्साइड आउट २’ले कमायो १ अर्ब डलर
१४ जुन २०२४ मा रिलिज भएको हलिउड सिनेमा ‘इन्साइड आउट २’ले संसारभरबाट १ अर्ब अमेरिकी डलर आर्जन गरेर रेकर्ड राखेको थियो। उक्त सिनेमाअघि सन् २०२३ मा रिलिज भएको हलिउड फिल्म ‘बार्बी’ले पनि १ अर्ब डलर कमाएको थियो।