काठमाडौं- आज २९ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९९०- ओजोन लेयरको सुरक्षाका लागि क्लोरोफ्लोरो कार्बनमाथि प्रतिबन्ध
सन् १९९० मा आजकै दिन ओजोन तहको सुरक्षाका लागि धर्तिमा क्लोरोफ्लोरो कार्बनको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। मोन्ट्रियल प्रोटोकलमाथि बेलायतको राजधानी लन्डनमा संशोधनपछि उक्त प्रावधान लागू भएको थियो। जसअनुसार, विकसित देशहरूमा सन् २००० र विकासशील मुलुकमा २०१० सम्ममा चरणबद्ध रूपमा क्लोरोफ्लोरो कार्बन समाप्त गर्नुपर्ने थियो। क्लोरोफ्लोरो कार्बन ओजोन तहका लागि सबैभन्दा हानिकारक पदार्थहरूमध्ये एक थियो। त्यो ग्रिनहाउस प्रभाव र विश्वव्यापी तापमान वृद्धिका लागि मुख्य कारक मानिन्छ।
– सन् १९९५- रुसी अन्तरिक्ष स्टेसन ‘मिर’मा जोडियो एटलान्टिस
सन् १९९५ मा आजकै दिन स्पेस सटल ‘एटलान्टिस’ रुसी अन्तरिक्ष स्टेसन ‘मिर’मा जोडिएको थियो। त्यसबाट विगतमा शीतयुद्धमा होमिएका अमेरिका र रुसबीच सहकार्यको नयाँ पहलु खुलेको थियो। उक्त डकिङमार्फत इतिहासकै सबैभन्दा ठूलो मानव निर्मित उपग्रह निर्माण भएको थियो।
– सन् २०१५- ग्रेट वालको ३० प्रतिशत भाग नष्ट
सन् २०१५ मा आजकै दिन चीनको ग्रेटवालको ३० प्रतिशत हिस्सा नष्ट भएको रिपोर्ट सार्वजनिक भएको थियो। बेइजिङ टाइम्समा प्रकाशित रिपोर्टअनुसार प्राकृतिक विनाश र पुरातात्विक महत्त्वका इँटा चोरीका कारण ग्रेटवालको उक्त हिस्सा नष्ट भएको पाइएको हो।
– सन् २०१७- एप्पलको पहिलो आई-फोन बिक्रीमा
अमेरिकी कम्पनी एप्पलले आजकै दिन पहिलो आई-फोन बिक्रीमा राखेको थियो। आई-फोनले स्मार्टफोन उद्योगमा क्रान्ति ल्याएको थियो। र, सोही कारण एप्पल संसारको मूल्यवान कम्पनीमा दरिएको थियो।
– सन् २०२२- गति बढ्यो पृथ्वीको
सन् २०२२ मा आजकै दिन वैज्ञानिकहरूले पृथ्वीको गति बढेको रेकर्ड गरेका थिए। र, हालसम्मको छोटो दिन पत्ता लगाएका थिए। वैज्ञानिकहरूका अनुसार पृथ्वीको गति सामान्य दिनभन्दा १.५९ मिलसेकेन्ड बढेको देखिएको थियो।
– सन् २०२३- शरणार्थीलाई रुवान्डा फर्काउन बेलायती अदालतको रोक
सन् २०२३ मा आजकै दिन बेलायती अदालतले रुवान्डाबाट आएर शरण मागिरहेका शरणार्थीहरूलाई उनीहरूकै देशमा फर्काउनु गैरकानूनी हुने फैसला सुनाएको थियो। रुवान्डा मानवीय हिसाबबाट सुरक्षित मुलुक नभएको अदालतले ठहर गरेको थियो।