काठमाडौँ । विगत ३० वर्षसम्म एमालेले जित्दै आएको हेटौँडा उपमहानगरमा पहिलोपटक महिला मेयर बनेकी छन् । हेटौँडाले महिला मेयर पाइरहँदा एमालेले आफ्नो गढ गुमाउन पुगेको हो र
०४९ सालदेखि हेटौँडामा जित्दै आएको एमालेले यसपटक गठबन्धनको अगाडि कमजोर बनेको हो । ०४९, ०५४ र ०७४ को स्थानीय निर्वाचनमा दुवै पद जित्दै आएको एमालेले यसपटक मेयर र उपमेयर दुवै पद गुमाएको छ ।
०७४ मा मेयरमा हरिबहादुर महत विजयी हुँदा मीनाकुमारी लामा उपमेयर बनेकी थिइन् । एमाले फुटेपछि लामा नेकपा एकीकृत समाजवादीमा लागेकी थिइन् ।
उनै लामाले यसपटक गठबन्धनबाट मेयरको टिकट पाइन् । र, एकैपटक दुई इतिहास बनाइन् । पहिलोमा उनी पहिलोपटक महिला मेयर बनिन् । दोस्रोमा उनले ३० वर्षपछि एमाले उम्मेदवारलाई पराजित गरिन् ।
लामाले एमाले उम्मेदवार अनन्त पौडेललाई दुई हजार १६७ मतान्तरले पराजित गरेकी हुन् । उनले २३ हजार ७५ मत ल्याउँदा पौडेललाई २० हजार नौ सय आठ मत पाए ।
हेटौँडाको उपमेयरमा गठबन्धनबाटै उम्मेदवारी दिएका कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उनले एमालेकी सुमित्रा काफ्लेलाई आठ हजार ६ सय ८७ मतान्तरले हराएका हुन् ।