काठमाडौँ । डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जसमध्ये पाँच जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिएका छन् ।
दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका ६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नंको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका १ गेरुपानी सडक खण्डमा दुर्घटनामा परेको हो ।
अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बसका चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।