त्रिशूली (नुवाकोट)- नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ। गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी नुवाकोटका प्रमुख निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए ।
साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौं महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
उनका अनुसार ढिकुरेबाट काठमाडौँ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो ।