काठमाडौं- आज २९ मे। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९५३- हिलारी-तेन्जिङले चुमे सगरमाथा शिखर
सन् १९५३ मा आजकै दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक मानव पाइला टेकेका थिए। विश्वको सर्वोच्च शिखरमा पुगेर उनीहरूले विजय ध्वज फहराएका थिए। उनीहरूले सगरमाथा विजय गर्नु ३ दिनअघि ब्रिटिस पर्वतारोहीद्वय टोम बर्डिलन र चार्ल्स इभान्स चुचुरोभन्दा १०० मिटर मुनिसम्म पुगेर फर्केका थिए।
– सन् १९९०- पेरु भूकम्पमा २०० को मृत्यु
सन् १९९० मा आजकै दिन दक्षिण अमेरिकी मुलुक पेरुमा गएको भूकम्पमा परी २०० जना मारिएका थिए। ५.८ रेक्टर स्केलको भूकम्पमा १५ सयभन्दा बढी घाइते र २ हजार घरबारविहीन भएका थिए।
– सन् २०१५- भारतमा ‘लू’बाट गयो १८०० को ज्यान
सन् २०१५ मा यही समयमा भारतका तेलंगना र आन्ध्र प्रदेशमा चलेको तातो हावा ‘लू’मा परी १ हजार ८०० जनाको ज्यान गएको थियो। एक साताभित्र दुई राज्यमा त्यति ठूलो हताहती भएको थियो।
– सन् २०१८- गर्मीले पाकिस्तानमा मारिए ६५ जना
सन् २०१८ मा आजकै दिन पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६५ जनाले ज्यान गुमाएका थिए। पाकिस्तानी शहर कराँचीमा ११० डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।
– सन् २०१८- समुद्री आँधीमा मारिए ४ हजार ६००
क्यारिबियन महासागरको टापु मुलुक पोर्टो रिकोमा आएको समुद्री आँधी मारियामा परी ४ हजार ६०० जनाको ज्यान गएको तथ्यांक हार्भर्ड युनिभर्सिटीले सार्वजनिक गरेको थियो। उक्त आँकडा त्यहाँको सरकारले सार्वजनिक गरेभन्दा ७० गुणा बढी थियो।
– सन् २०२२- ब्राजिलमा वर्षा र पहिरोले लियो ७९ को ज्यान
सन् २०२२ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिलमा वर्षा, बाढी र पहिरोमा परी ७९ जनाले ज्यान गुमाएका थिए। त्यस क्रममा हराएका ५६ जना कहिल्यै भेटिएनन्। उत्तरपूर्वी प्रान्त पर्नाम्बुको सबैभन्दा बढी प्रभावित भएको थियो।
– सन् २०२४- भारतमा ५२.३ डिग्री तापक्रम
सन् २०२४ मा आजकै दिन भारतमा ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। भारतका उत्तरी र मध्य क्षेत्रमा अत्यधिक गर्मी रेकर्ड गरिएको थियो। साँझपख ४९ डिग्री सेल्सियसमा तापक्रम झरेको थियो। अत्यधिक गर्मीका कारण तातो हावा ‘लू’ चलेको थियो।
– सन् २०२५- आगलागीबाट बच्न क्यानाडामा संकटकाल घोषणा
सन् २०२५ मा आजकै दिन आगलागीबाट मानिस र घरपालुवा जनावर जोगाउन क्यानाडाका २ प्रान्तमा संकटकाल घोषणा गरिएको थियो। मानितोवा र सुस्काचुवान प्रान्तमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएपछि संकटकाल घोषणा गर्नुपरेको थियो। डढेलो १५ लाख ५६ हजार हेक्टरमा फैलिएको थियो। करिब १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।