काठमाडौं- आज २८ मे। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्व चर्चित केही घटनाको सारसंक्षेप।
– सन् १९३७- भक्सवागन सार्वजनिक
सन् १९३७ मा आजकै दिन भक्सवागन कार सार्वजनिक गरिएको थियो। जर्मनीको उक्त कारको खास अर्थ ‘जनताको कार’ हो। यो अहिले संसारभर सबैभन्दा बढी बिक्री भएको कार हो। ‘भीडब्लू गल्फ’ र ‘भीडब्लू बिटल’लगायत डिजाइनका कार उत्पादन हुँदै आएको छ।
– सन् १९३६- एलन ट्युरिङको कम्प्युटेबल नम्बर्स
सन् १९३६ मा आजकै दिन एलन ट्युरिङको ‘अन कम्प्युटेबल नम्बर्स’ प्रकाशनका लागि प्रस्तुत भएको थियो। उक्त ऐतिहासिक पेपरमा ब्रिटिस कम्प्युटरको अग्रणी ट्युरिङ मेसिनको वर्णन थियो। र, गणनामा अन्तर्निहित सीमाको परिभाषा गरिएको थियो।
– सन् १९६१- एमनेस्टी इन्टरनेसनल स्थापना
सन् १९६१ मा आजकै दिन एमनेस्टी इन्टरनेसनल स्थापना भएको हो। पिटर बेनेन्सनको लेख ‘द फर्गटन प्रिजनर्स’को प्रकाशनलाई उक्त संगठनको जन्म समय मानिन्छ। एमनेस्टी संसारको सबैभन्दा प्रभावशाली मानव अधिकार संगठन मानिन्छ।
– सन् १९८७- मस्कोको रेड स्क्वायरमा अवैध अवतरण
सन् १९८७ मा आजकै दिन १९ वर्षका माथियास रस्टले तत्कालीन सोभियत संघको राजधानी मस्कोस्थित रेड स्क्वायरमा अवैध अवतरण गरेका थिए। उनी तत्कालीन पश्चिम जर्मनीका पाइलट थिए। र, आफ्नो सेस्ना जहाज मस्को मुटु मानिने रेड स्क्वायरमा अवतरण गराएका थिए। त्यो शीतयुद्धको उत्कर्षको समय थियो।
– सन् १९९५- रुसी भूकम्पमा २ हजार मारिए
सन् १९९५ मा आजकै दिन रुसमा गएको भूकम्पमा २ हजार जनाको ज्यान गएको थियो। ७.१ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु खबरोस्क शहर नजिक रेकर्ड गरिएको थियो। हालको रुसी भूमिमा गएको यो सबैभन्दा विनाशकारी भूकम्प थियो।
– सन् १९९८- पाकिस्तानले विष्फोट गर्यो परमाणु बम
भारतसँग तनाव बढ्दै जाँदा पाकिस्तानले आजकै दिन ५ वटा परमाणु बम विष्फोट गरेको थियो। भारतले परमाणु बम परीक्षण गरेको केही दिनमै त्यसको जवाफका रूपमा पाकिस्तानले पनि विष्फोट गराएको थियो। दक्षिण एसियाका परमाणु शक्तिबीच भएको उक्त होडलाई मध्यनजर गर्दै अमेरिका, जापानलगायत मुलुकले आर्थिक प्रतिबन्ध घोषणा गरेका थिए।
– सन् २००८- नेपालमा राजतन्त्र अन्त्य
सन् २००८ मा आजकै दिन २४० वर्षको राजतन्त्र अन्त्य गर्दै नेपालको संसदले गणतन्त्र घोषणा गरेको थियो। जननिर्वाचित पहिलो संविधान सभाको पहिलो बैठकबाट औपचारिक रूपमा गणतन्त्र घोषणा गरिएको थियो। बिक्रम संवतमा भने त्यो दिन १५ जेठ थियो। त्यसको केही समयपछि राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार त्यागेका थिए।
– सन् २०१७- श्रीलंकामा १५१ को मृत्यु
श्रीलंकामा आजकै दिन आएका बाढी, पहिरोहरूमा परी १५१ जनाले ज्यान गुमाएका थिए। सरकारका अनुसार बाढी, पहिरोबाट ५ लाख जनसंख्या प्रभावित भएको थियो। उक्त विपत्ति सन् २००४ को सुनामीपछिको सबैभन्दा ठूलो मानिन्छ।
– सन् २०१८- फ्रान्समा १० लाखले एकसाथ छाडे चुरोट
फ्रान्समा वर्षदिनभित्र १० लाखले चुरोट छाडेको तथ्यांक सरकारले सार्वजनिक गरेको थियो। फ्रान्सको पब्लिक हेल्थ डिपार्टमेन्टले नयाँ नियमहरू लागू गरेपछि चुरोट छाड्नेको सख्या ह्वात्तै बढेको थियो।
– सन् २०२१- क्यानाडामा भेटियो २१५ बालबालिकाको चिहान
सन् २०२१ मा क्यानाडामा २१५ बालबालिकाको सामूहिक चिहान फेला परेको थियो। ब्रिटिस कोलम्बियामा फर्स्ट नेसनले कमप्लुस इन्डियन रेजिडेन्सियल स्कुलमा उक्त चिहान फेला पारेको थियो।
– सन् २०२५- स्विट्जरल्यान्डमा हिमतालको ताण्डव
सन् २०२५ मा आजकै दिन स्विट्जरल्यान्डको आल्प्स पर्वतमा हिमताल विष्फोट हुँदा आसपासको क्षेत्रका करिब ३०० मानिस र उनीहरूले पालेका घरपालुवा जनावरहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो।
– सन् २०२५- अल्बानियाका पूर्व राष्ट्रपति भ्रष्टाचारी पुष्टि
अल्बानियाका पूर्व राष्ट्रपति इलिर मेतालाई आजकै दिन भ्रष्टाचारमा दोषी ठहर गरिएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण, कर छली र सम्पत्ति लुकाएको आरोप पनि पुष्टि भएको थियो।