काठमाडौं- आज १९ मे। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १५७१- मनिला शहरको स्थापना
४५४ वर्षअघि आजकै दिन फिलिपिन्सको मनिला शहर स्थापना गरिएको थियो। स्पेनका अन्वेषक मिगल लोपेज डे लेगाज्पीले अहिलको मनिला स्थापना गराएका थिए।
– सन् १७४३- हुवाँ-पियरे क्रिस्टिनले आविष्कार गरे सेल्सियस थर्मोमिटर
सन् १७४३ मा आजकै दिन हुवाँ-पियरे क्रिस्टिनले सेल्सियस थर्मोमिटर आविष्कार गरेका थिए। सेल्सियसमा मापन गरिने थर्मोमिटरले ‘फ्रिजिङ एन्ड बोइलिङ पोइन्ट अफ वाटर’ शरीरको ताप मापन गर्छ। आधुनिक विश्वमा यो अत्यधिक प्रयोग हुन्छ। अमेरिका, बेलिज र पलाउले भने त्यसको प्रयोग गर्दैनन्।
– सन् १९१९- अतातुर्कको नेतृत्वमा टर्कीमा स्वतन्त्रता संग्राम
टर्कीका संस्थापक मुस्तफा कमाल अतातुर्कले सन् १९१९ मा आजकै दिन देशको स्वतन्त्रता संग्राम शुरु गरेका थिए। ट्रिपल एटेन्टका सहयोगीहरू विरुद्ध भएको उक्त युद्ध करिब ४ वर्ष चल्यो। सोही युद्धले टर्की गणराज्य स्थापना भयो, जसको प्रथम राष्ट्रपति अतातुर्क बने। उनको जन्मदिन पनि आजै पर्छ।
– सन् १९५९- २०औं शताब्दीको उत्कृष्ट सैन्य इन्जिनियरिङ
सन् १९५९ मा आजकै दिन तत्कालीन उत्तर भियतनामी सेनाले हो ची मिन्ह ट्रेल अभियान शुरु गरेको थियो। अमेरिकी राष्ट्रीय सुरक्षा एजेन्सी (एनएसए)का अनुसार ‘भियतकाङ’द्वारा उपयोग गरिँदै आएको आपूर्ति मार्गको प्रणाली २०औं शताब्दीको उत्कृष्ट सैन्य इन्जिनियरिङमध्ये त्यो सबैभन्दा उपलब्धीपूर्ण भएको थियो।
– सन् १९६२- मार्टिन लुथरले जेलरलाई लेखेको पत्र सार्वजनिक
अमेरिकी नश्लवाद विरोधी अभियन्ता मार्टिन लुथर किङ जुनियरले बर्मिङघम जेलका जेलरलाई लेखेको खुला पत्र सन् १९६२ मा आजकै दिन प्रकाशित गरिएको थियो। उनले नश्लवाद र विभेदविरुद्ध आफ्नो अहिंस्रक प्रतिरोधको बचाउ गर्दै जेलरलाई पत्र लेखेका थिए। उनको पत्र अमेरिकामा नागरिक अधिकार आन्दोलनका लागि केन्द्रीय ग्रन्थमध्ये एक बन्न पुगेको थियो।
– सन् १९६२- मार्लिन मुनरोको त्यो नृत्य
अमेरिकी अभिनेत्री मार्लिन मुनरोले सन् १९६२ मा आजकै दिन तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको बर्थ डे पार्टीमा आफ्नो जीवनको अन्तिम सार्वजनिक नृत्य गरेकी थिइन्। १ जुन १९६२ मा ३६ वर्षकै उमेरमा उनको असामयिक निधन भएको थियो। त्यतिबेला राष्ट्रपति केनेडी र मुनरोबीच अफेयर चलिरहेको थियो भनिन्छ।
– सन् १९९३- बोइङ दुर्घटनामा मारिए १३२
सन् १९९३ मा आजकै दिन बोइङ-७२७ विमान दुर्घटनामा १३२ जनाको ज्यान गएको थियो। कोलम्बियाको एयरलाइन्स सामको उक्त विमान मेडेलिन पहाडमा दुर्घटनाग्रस्त भएको थियो। मारिनेमा धेरै पानामाका दन्त चिकित्सकहरू थिए, जो एक कन्फरेन्समा सहभागी हुन जाँदै थिए। उक्त विमान पानाको राजधानी पानामा सिटीबाट कोलम्बियाको बोगोटा जाँदै थियो।
– सन् २०१६- भूमध्य सागरमा खस्यो इजिप्टको विमान
सन् २०१६ मा आजकै दिन इजिप्ट एयरको विमान भूमध्य सागरमा खसेको थियो। एयरबस-३२० विमान फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो जाँदै थियो। चालक दल र यात्री गरी विमानमा सवार सबै ६६ जनाको ज्यान गएको थियो।
– सन् २०१८- प्रिन्स ह्यारीको विवादास्पद विवाह
बेलायतका राजकुमार ह्यारीले आजकै दिन अमेरिकी अभिनेत्री मेघन मर्केलसँग विवाह गरेका थिए। तथापि, उनको विवाह विवादमुक्त रहेन। र, उनले शाही पदवी छाडेर अमेरिकामै निर्वासित हुने निर्णय लिए। उनको विवाह बेलायती शाही परम्पराविपरीत अफ्रिकी-अमेरिकी संस्कृतिका साथ भएको थियो।
– सन् २०२०- लकडाउनमा १७ प्रतिशत घट्यो ग्रिनहाउस ग्यास उत्सर्जन
सन् २०२० मा कोभिड-१९ महामारीबाट बच्न विश्वभर लकडाउन लागू गरिएपछि ग्रिन हाउस ग्यास उत्सर्जन १७ प्रतिशत घटेको थियो। ‘नेचर क्लाइमेट चेन्ज’ जर्नलमा त्यससम्बन्धी रिपोर्ट प्रकाशित भएको थियो।
– सन् २०२२- सवा १४ करोड डलरमा बिक्यो विश्वकै महँगो कार
सन् २०२२ मा आजकै दिन विश्वकै महँगो मानिएको कार ‘१९९५ मर्सिडिज-बेन्ज एसएसआर कुप’ १४ करोड २० लाख अमेरिकी डलरमा बिक्री भएको थियो।
– सन् २०२४- हेलिकोप्टर दुर्घटनामा मारिए इरानी राष्ट्रपति
सन् २०२४ मा आजकै दिन भएको हेलिकोप्टर दुर्घटनामा इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको निधन भएको थियो। उनी सवार हेलिकोप्टर ‘वेदर ट्र्याप’मा परेर दुर्घटनाग्रस्त भएको थियो। उनीसँगै विदेश मन्त्री होसेन अमिर-अब्दोल्लाहाइनलगायतका अफिसरहरूले पनि सोही दुर्घटनामा ज्यान गुमाएका थिए।
– सन् २०२५- ३७ वर्षपछि भेटियो जिम मोरिसनको मूर्ति
सन् २०२५ मा आजकै दिन फ्रान्सको राजधानी पेरिसको प्रहरीले गायक जिम मोरिसनको चोरिएको मूर्ति बरामद गर्न सफलता पाएको थियो। ‘द डोर्स’ गायक मोरिसनको चिहानबाट सन् १९८८ मा उनको मूर्ति चोरी भएको थियो।