रुसले युक्रेनमाथि जारी राखेको आक्रमण बन्द नभए विश्वभर खाद्यान्न संकट देखापर्ने संयुक्त राष्ट्रसंघले बताएको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वलाई युक्रेन युद्धले खाद्य संकटतिर डो¥याएको बताए। पछिल्ला महिनामा खाद्यान्नको मूल्यमा भएको बढोत्तरीको मारमा गरिब मुलुकहरू परिरहेको उनले बताए।
यो युद्धका कारण विश्वलाई आगामी धेरै वर्षसम्म खाद्य संकटको सामना गर्नुपर्ने उनको चेतावनी छ। रुसको आक्रमणका कारण युक्रेनका सबै बन्दरगाह अवरुद्ध भएका छन्। त्यसका कारण खाद्यान्न निर्यात प्रभावित भएको छ।
युक्रेनले खाने तेल, मकै, गहुँजस्ता अनाज संसारभर निर्यात गर्दै आएको थियो। रुसको आक्रमणका कारण युक्रेनको निर्यात शून्यमा झर्दा विश्वभर आपूर्ति कम भएको छ। र, खाद्यान्नको मूल्यमा तीव्र बढोत्तरी भएको छ। राष्ट्रसंघका अनुसार खाद्यान्नको मूल्यमा गत वर्षको तुलनामा ३० प्रतिशतले बढोत्तरी भइसकेको छ।