काठमाडौं- आज २७ मार्च। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९६४- अमेरिकामा इतिहासकै ठूलो भूकम्प
अमेरिकाको अलास्कास्थित दक्षिण-केन्द्रीय क्षेत्रमा सन् १९६४ मा आजकै दिन इतिहासकै ठूलो भूकम्प मापन भएको थियो। ९.२ रेक्टरस्केलको उक्त भूकम्प आधुनिक संसारको इतिहासमा दोस्रो ठूलो थियो। भूकम्प र त्यसपछि आएको सुनामीमा परी १३१ जनाको ज्यान गएको थियो।
– सन् १९७७- बोइङ-७४७ दुर्घटनामा मारिए ५८३ जना
स्पेनको विमानस्थलमा दुईवटा बोइङ-७४७ विमान ठोक्किँदा दुवै विमानमा सवार ५८३ जना मारिएका थिए। यो उड्डयन इतिहासकै सबैभन्दा भयंकर दुर्घटना मानिन्छ। टेनेरिफ विमानस्थलको धावनमार्गमा बाक्लो कुहिरोका कारण उक्त दुर्घटना भएको थियो। केएलएम रोयल डच एयरलाइन्सको उडान नम्बर ४८०५ नम्बरको विमान उडान भर्ने क्रममा थियो। यस्तै, पान अमेरिकन एयरलाइन्सको उडान नम्बर १७३६ नम्बरको विमान धावनमार्गमै थियो। धावनमार्गमा रहेको पान अमेरिकन एयरलाइन्सको विमानमा केएलएमको विमान ठोक्किएको थियो। दुर्घटनामा केएलएमका सबै यात्री र चालक दलका सदस्य मारिए। पान अमेरिकन एयरलाइन्सको भने अघिल्लो भागमा बसेका ६१ यात्री मात्र बच्न सफल भए।
– सन् १९८०- नर्वेको इन्धन प्लेटफर्म समुद्रमा डुब्दा १२३ को मृत्यु
सन् १९८० मा आजकै दिन नर्वेको इन्धन उत्खनन प्लेटफर्म अलेक्जेन्डर एल केजेल्यान्ड समुद्रमा डुबेको थियो। तीव्र समुद्री हावाका कारण भएको दुर्घटनामा प्लेटफर्ममा कार्यरत २१२ मध्ये १२३ जनाको ज्यान गएको थियो। अन्य ८९ जनालाई सकुशल उद्धार गरिएको थियो।
– सन् १९९४- इटालीमा सिल्भियो बर्लुस्कोनीको उदय
सन् १९९४ मा आजकै दिन इटालीमा सिल्भियो बर्लुस्कोनी प्रधानमन्त्री बनेका थिए। आफ्नो २० वर्षे राजनीतिमा बर्लुस्कोनीले अनेक प्रेम सम्बन्ध र स्क्यान्डलका कारण निरन्तर चर्चा बटुलिरहे। तर, नीतिगत रूपमा उनका कुनै उल्लेखनीय काम देखिएन। सन् २०१३ मा उनलाई कर ठगी गरेको अभियोगमा अदालतले ४ वर्षको जेल सजाय तोक्यो। र, उनको राजनीतिक करिअर पनि अन्त्य भयो। र, १२ जुन २०२३ मा ८६ वर्षको उमेरमा उनको निधन भयो।
– सन् १९९८- यौन क्रियाकलापमा भियग्रा प्रयोग गर्न स्वीकृति
सन् १९९८ मा आजकै दिन यौनजन्य क्रियाकलापका लागि भियग्राको प्रयोग गर्न अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले स्वीकृति दिएको थियो। पुरुष नपुंशकताविरुद्ध प्रयोग भएको पहिलो भियग्रा थियो, फाइजर कम्पनीको पिल। सन् २०१२ मा उक्त कम्पनीले भियग्राबाट मात्र २ अर्ब अमेरिकी डलर कमाएको थियो।
– सन् २०२१- चीन र इरानबीच लगानी सम्झौता
सन् २०२१ मा आजकै दिन चीन र इरानबीच ४० खर्ब अमेरिकी डलर लगानीसम्बन्धी सम्झौता भएको थियो। र, इरानबाट इन्धन आपूर्ति गर्न चीन सहमत भएको थियो।
– सन् २०२१- म्यानमारमा सेनाद्वारा ११४ को हत्या
सन् २०२१ मा म्यानमारको सेनाले एकै दिन ११४ जना सर्वसाधारणको हत्या गरेको खुलासा भएको थियो। सेनाले सत्ता हत्याएपछि त्यतिन्जेलसम्म ४२० जनाको हत्या भइसकेको थियो।
– सन् २०२३- चन्द्रमाको सतहमा ३० खर्ब टन पानी
सन् २०२३ मा आजकै दिन वैज्ञानिकहरूले चन्द्रमाको सतहमा ३० खर्ब टन पानी जमेर रहेको अनुमान गरेका थिए। चन्द्रमाको माटो परीक्षणबाट उक्त निष्कर्ष निकालिएका थिए। ‘चेन्ज ५’ मिसनले संकलन गरेर ल्याएको माटो परीक्षणबाट चिनियाँ वैज्ञानिकहरूले उक्त तथ्य सार्वजनिक गरेका थिए।
– सन् २०२४- हार्वर्डले हटायो मानव छालाको बाइन्डिङ
अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सन् २०२४ मा आजकै दिन मानव छालाबाट पुस्तकमा गरिएको बाइन्डिङ हटाउने घोषणा गरेको थियो। पुस्तकमा १९औं शताब्दीमा एक मानसिक रोगीको छालाबाट बाइन्डिङ गरिएको खुलासा भएको थियो।
– सन् २०२४- जलवायु परिवर्तनले घटायो पृथ्वीको गति
सन् २०२४ मा आजकै दिन वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको घुम्ने गति कम भएको निष्कर्ष निकालेका थिए। खासगरी, हिउँ पग्लिएका कारण पृथ्वीको गति कम भएको उनीहरूको निष्कर्ष थियो। त्यसकारण आगामी लिप सेकेन्ड ३ वर्षसम्म ढिलो हुने पूर्वानुमान छ।
– सन् २०२५- युरोपेली स्पेस टेलिस्कोप बन्द
सन् २०२५ मा आजकै दिन युरोपेली स्पेस टेलिस्कोप गइया बन्द गरिएको थियो। मिल्की वेको नक्सा बनाउने र करिब २ अर्ब ताराहरूको तथ्यांक संकलन गरेपछि उक्त टेलिस्कोप बन्द गरिएको थियो। उक्त टेलिस्कोपले करिब एक दशक सेवा गरेको थियो।