काठमाडौं– बम्बार्डियर जेट जहाजहरू मार्फत हवाई सेवा दिँदै आएको सौर्य एयरलाइन्सले उडान भर्न नपाएको १६ महिना बित्यो। तर, अझै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएको छैन।
उक्त एयरलाइन्सको ‘९एन-एएमई’ कलसाइनको ‘सीआरजे-७’ बम्बार्डियर जहाज ९ साउन ०८१ मा काठमाडौंमा दुर्घटना भएको थियो। काठमाडौंबाट पोखराका लागि उडेको उक्त जहाज त्रिभुवन विमानस्थलको धावनमार्ग नजिक पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो।
घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने क्याप्टेन मनिष शाक्य गम्भीर घाइते भएका थिए। मृतकमध्ये १७ जना नेपाली र एक यमनका नागरिक थिए।
२ भदौ २०७१ मा ‘९एन-एएलई’ कलसाइनको पहिलो जहाज भित्र्याएर सोही वर्ष १ मंसिरदेखि नियमित उडान थालेको हो, सौर्य एयरलाइन्सले। त्यसपछि मार्च २०१७ मा एयरलाइन्सले ‘९एन-एएमई’ जहाज थपेको थियो। सोही जहाज ९ साउन ०८१ मा दुर्घटनामा परेको थियो।
काठमाडौंलाई मुख्य हब बनाएर एयरलाइन्सले भद्रपुर, विराटनगर, धनगढी, नेपालगञ्ज, पोखरा र भैरहवामा उडान भर्दै आएको थियो। तर, पछिल्लोपटक ल्याएको जहाज नै दुर्घटनामा परेपछि कम्पनीले आफ्नो उडान बन्द गर्यो।
कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार सबै विभागले सौर्य एयरलाइन्सका कार्यसम्पादन उत्कृष्ट भएको रिपोर्ट दिएका छन्। यस्तै, सेफ्टी अडिटमा कम्तिमा ६० प्रतिशत ल्याउनुपर्नेमा ६५.६७ प्रतिशत ल्याएको छ।
यसैगरी, दुर्घटना जाँचबुझ आयोगले दिएको सेफ्टी रिकोमेन्डेसनका २३ वटा मापदण्ड नै पूरा गरिसकेको छ। ‘उडान रोक्नुपर्ने कुनै कारण छैन,’ एयरलाइन्सका वरिष्ठ अधिकारी उमेश आचार्य भन्छन्।
दुर्घटनाका मृतक १८ मध्ये ९ जनाको परिवारले बीमा रकम र क्षतिपूर्ति प्राप्त गरिसकेका छन्। बाँकी ९ जनाको परिवार बढी क्षतिपूर्ति माग गरेकाले कानूनी उपचारमा जान उनीहरूलाई कम्पनीले सहयोग गरिरहेको सौर्य एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले दुर्घटनामा मृत्यु भएका आफ्ना कर्मचारीका परिवारलाई कम्पनीमा काम गरेको अवधिका आधारमा क्षतिपूर्ति रकम उपलब्ध गराएको छ। त्यस आधारमा लामो समय काम गरेका कर्मचारीका परिवारले १८ लाखदेखि २० लाख रुपैयाँसम्म पनि भुक्तानी पाएका छन्। र, दुर्घटनापछि उडान बन्द रहँदा पनि सौर्यले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गरिरहेकै छ।
त्यसका बावजुद पनि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति नपाएको कम्पनीका अध्यक्ष पोखरेल बताउँछन्। हालै हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा निलम्बित क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कर्मचारी र पदाधिकारीहरूसँग तत्काल उडान अनुमति दिने बताउने गरेका थिए। उनीहरू क्यानबाट बाहिर निस्किनासाथ कर्मचारीहरूलाई बोलाएर फाइल अगाडि नबढाउन निर्देशन दिने गरेका थिए। उनी निलम्बित भएपछि हाल देवचन्द्रलाल कर्ण क्यानका निमित्त महानिर्देशक छन्। उनले पनि उडान अनुमति दिन आनाकानी गरिरहेको अध्यक्ष पोखरेल बताउँछन्।
यसअघि जहाज दुर्घटनामा परेका एयरलाइन्सहरूको उडान रोकिएको छैन। तर, सौर्य एयरलाइन्सको उडान रोक्नुको कारण पनि क्यानले दिएको छैन।