काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन अपील गरेका छन् ।
उनले कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको बताउँदै आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन् ।
‘संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ,’ देउवाले भने ।
कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी भएको बताउँदै उनले ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’, ‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नाराका साथ कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपील गरेका हुन् ।