काठमाडौँ । नेकपा एमालेलाई नेपाली कांग्रेसले अघिल्लो चुनावको वाचा पूरा गर्न नसक्ने आरोप लगाएको छ । सोमबार बिहान पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाश शरण महतले केपी ओलीले आफ्नो वाचा पूरा गर्न नसकेको आरोप लगाएका हुन् ।
‘उहाँ त कुरा गर्नुहुन्छ,’ प्रवक्ता महतले भने, ‘पानी जहाज ल्याउने, पानीजहाजको कार्यालय त खुल्यो, उहाँका ठूलठूला तस्वीर काठमाडौँको सडकमा फूल साइजमा त लगाइए, तर पानी जहाज आयो ? पानीजहाज त कलकत्तामै छ, उत्तरबाट रेल ल्याउने भनेको होइन ? रेल ल्याउनु त कता हो कता सर्वेक्षण लाइसेन्सको सम्झौता पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अस्ती चिनियाँ विदेशमन्त्री आउँदा खेरी भयो ।’
उनले कुरा गर्न सजिलो भए पनि काम गर्न भिजन र इमान चाहिने बताए । ‘झुठोमाथि झुठो, ग्याँस पाइपलाइन जोड्ने घरघरै भनेर समेत भने, कुराले त जे पनि जोडिन्छ, चन्द्रमा नै पुगिन्छ, कल्पनामा त पुगिन्छ, उद्देश्य के लिनु उडु छुनु चन्द्र, तर साँच्चिकै पुग्नलाई त कति मिहिनेत पर्छ, त्यसै हुन्छ ?,’ महतले प्रश्न गरे ।