लन्डन- पूर्वी युक्रेनको एक स्कूलमा बम आक्रमण हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ।
युक्रेनमाथि रुसले आक्रमण गरेको दुई महिनाभन्दा बढी भइसकेको छ। आक्रमण अझै पनि जारी छ। युक्रेनले पनि रुसलाई जवाफी आक्रमण गरिरहेको छ।
लुहान्स्क प्रान्तका गभर्नर सेर्हाइ हाइडाइले दुईजनाको मृत्यु भएको पुष्टि गर्दै आक्रमणमा कम्तीमा ६० जनाको ज्यान गएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यो विद्यालय लुहान्स्कको बिलोहोरिभकामा छ।
विद्यालयको उक्त भवनमा करिब ९० जनाले आश्रय लिएका थिए। आक्रमणपछि ३० जनालाई उद्धार गरी बाहिर निकालिएको छ। तीमध्ये सातजना गम्भीर घाइते भएका छन्।
गभर्नर हाइडाईले शनिबार रुसले विद्यालय भवनमा बम खसालेको बताए। युक्रेनको एक अखबारले गत सातादेखि यो स्थान युद्धको हटस्पट बनेको दाबी गरेको छ। बम पड्किएर विद्यालयको भवन पूर्ण रूपमा भत्किएको र आगलागी भएको उक्त अखबारमा दाबी गरिएको छ। आगो निभाउन दमकललाई तीन घण्टाभन्दा बढी लागेको थियो।