काठमाडौँ । इलाममा स्थानीयबासीको कुटाइबाट नुवाकोट तारकेश्वर गाउँपालिका २ का ३४ वर्षीय दीपक ढुंगानाको मृत्यु भएको छ । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
काठमाडौँबाट इलाम गएकी १७ वर्षीया किशोरीलाई गत २० गते राति बलात्कारको प्रयास भएको थियो । किशोरी गएकै गाडीको खलासी १८ वर्षीय किशोरले बलात्कारको प्रयास गरेका थिए । नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका किशोर बा ५ ख ५९८२ नम्बरको गाडीका खलासी हुन् ।
बलात्कारको प्रयासपछि किशोर फरार भए । किशोरीले आफूलाई बलात्कारको प्रयास भएको बताएपछि किशोरीको बुवासहित स्थानीयले गाडी चालकलाई कुटेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका गाडी चालकको हिजो मृत्यु भएको हो ।
चालकको मृत्युपछि प्रहरीले पीडित किशोरीका बुवालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । बलात्कारको प्रयास गर्ने किशोरलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।