गृहमन्त्री खाँणले एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति कटाक्ष गर्दै सुकुम्वासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाएका छन् ।
पाँच दलले बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘सुकुम्वासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ? सुकुम्वासीको होइन, आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र होइन, काठमाडौंमा पनि।’
कुनै दल कमजोर भएर नभई संविधानको रक्षा, विधिको शासन, नागरिकका हक र प्रेस स्वतन्त्रताको रक्षाका लागि पाँच दलबीच गठबन्धन भएको उनको तर्क थियो। गृहमन्त्री खाँणले सात दल र माओवादीबीच शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति शुरु भएको र एमाले अध्यक्ष केपी ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताए।
गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्तता भए पनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए।