काठमाडौं- विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले २५ देखि ३१ वैशाखसम्म रेटिनोब्लास्टोमा सम्बन्धी सचेतना सप्ताह मनाउँदैछ।
साताभरि तिलगंगा आँखा प्रतिष्ठानमा आँखामा क्यान्सर भएका बालबालिकाहरुको निःशुल्क जाँच तथा उपचार गरिनेछ। त्यसैगरी, २६ वैशाखमा त्रिवि शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि र जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ। उक्त अन्तर्क्रिया कार्यक्रममा बालरोग विशेषज्ञ तथा बालरोग आवासीय चिकित्सकलाई आँखा विशेषज्ञद्वारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि सक्दो चाँडोे आँखा अस्पतालमा पठाउनेसम्बन्धी जानकारी दिइनेछ।
के हो रेटिनोब्लास्टोमा ?
रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो। यो नवजात शिशुदेखि पाँच वर्षमुनिका बालबालिकामा देखा पर्नसक्छ।
यो रोगको उपचारमा ढिलाइ भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्छ। नेपाललगायत विकासोन्मुख देशहरूमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत छ। तर, विकसित देशहरूमा ५ प्रतिशतभन्दा कम पाइएको छ। रेटिनोब्लास्टोमा एउटा जटिल रोग भए पनि यस रोगको लक्षणलाई प्रारम्भिक अवस्थामै पत्ता लगाएर उपचारका लागि चिकित्सककहाँ जाँदा बालबालिकालाई पूर्ण रूपमा क्यान्सरमुक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ।
लक्षण रेटिनोब्लास्टोमाको प्रमुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो। यस्तो लक्षण देखिए पनि बालबालिका भने स्वस्थ नै देखिन्छन्, जसकारण बालबालिका तथा अभिभावकलाई यस विषयमा थाहा नहुँदा उपचारका लागि अस्पताल ढिलो पुग्छन्।
यस्तै, रंगीन फोटोमा आँखाको नानी सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु, आँखाको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका अन्य लक्षण हुन्। समयमै उपचार भएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रूपमा बढ्नसक्छ।
यो क्यान्सर विस्तारै आँखाको बाहिर तथा शरीरका अन्य अङ्ग दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम हुन्छ।
‘हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकालाई भाग्यमानी ठान्ने चलन छ,’ डा. पूर्णिमा राजकर्णिकार भन्छिन्, ‘तर यो रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन। कतिपय मानिसले यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाइ गर्छन्, जसकारण यो रोग लागेका बालबालिकालाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।’
उनका अनुसार यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ। दुवै आँखामा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुन्छ। यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ।
उपचार
यो रोगको उपचारका लागि लेजर तथा शल्यक्रियाबाहेक केमोथेरापी, थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी आदि प्रमुख उपचार पद्दतिमा पर्छन् । प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखासहित आँखा वरपरका हड्डीसमेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारणमध्ये ३२.१ प्रतिशतमा रेटिनोब्लास्टोमा भएको देखिन्छ।
तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुँदै आएको छ। विगत ६ वर्षदेखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारद्वारा विस्तृत रूपमा यसको उपचार भइरहेको छ। यो रोग लागेका आर्थिक अवस्था कमजोर भएर र उपचार गर्न नसकेकालाई प्रतिष्ठानले ओपन आइज नेपालको सहयोगमा निःशूल्क उपचार गरिरहेको छ।