नयाँदिल्ली- पानीको कमीका कारण शरीरमा अनेक समस्या आउँछन्। त्यसैले दैनिक जीवनमा पानीको महत्त्व अधिक छ।
खासगरी, गर्मी मौसममा पानीको आवश्यकता बढी हुन्छ। किनकि, चर्को गर्मीमा पसिनाको माध्यमबाट धेरै मात्रामा फ्लुइड्स बाहिर निस्किन्छ। त्यस्तो अवस्थामा पानी कम पिउँदा शरीरमा डिहाइड्रेसन हुन सक्छ।
त्यसबाट उच्च रक्तचाप, रिंगटा लाग्ने र बेहोश हुनेजस्ता गम्भीर समस्या निम्तिन्छन्। यो संसारभर देखिने समस्या हो। र, बर्सेनि लाखौं मानिस प्रभावित हुन्छन्।
कम पानी पिउँदा शरीरमा कुनै लक्षण देखिँदैनन्। एक्कासी समस्या आउँछ। त्यसैले नियमित पानी पिउने बानीको विकास गर्नु अत्यावश्यक छ।
शरीरमा पानीका ११ काम
– मानव शरीरको ७० प्रतिशत हिस्सा पानी हुन्छ
– शरीरमा ३७ खर्ब कोशिका हुन्छन् र हरेकमा पानी हुन्छ
– पानी बिना कुनै कोशिकाले काम गर्न सक्दैनन्
– पानी बिना शरीरका कुना-कुनामा रगतले अक्सिजन पुर्याउन सक्दैन
– पानीले शरीरको तापमान नियन्त्रणमा राख्न मद्दत गर्छ
– पानीले र्याल बनाउने र पाचन क्रियालाई दुरुस्त राख्ने काम गर्छ
– पानीले कोशिकाहरूको म्युकस मेम्ब्रेनलाई दुरुस्त राख्छ
– पानीले शरीरबाट अनावश्यक वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ
– हड्डीहरूको जोर्नीलाई चलायमान राख्न पानीकै भूमिका हुन्छ
– पानीले हर्मोन र न्युरोट्रान्समिटर बनाउन मद्दत गर्छ
– मस्तिष्क र स्पाइनका हड्डीलाई पानीले चोट लाग्नबाट बचाउँछ
मस्तिष्कमा ८० देखि ८५, मिर्गौलामा ८० देखि ८५, मुटुमा ७५ देखि ८०, फोक्सोमा ७५ देखि ८०, मांशपेशीमा ७० देखि ७५, कलेजोमा ७० देखि ७५, छालामा ७० देखि ७५, रगतमा ५०, हड्डीहरूमा २० देखि २५ र दाँतमा ८ देखि १० प्रतिशत पानी हुन्छ।
डिहाइड्रेसनबाट बच्ने उपाय
– दिनभर थोरै-थोरै पानी पिउँदै गरौं
– प्यास लाग्नासाथ पानी पिऊँ, यसलाई नजरअन्दाज नगरौं
– शारीरिक व्यायाम अघि र पछि पानी पिऊँ
– गर्मीयाममा पानी पिउने मात्रा बढाऊँ
– तरबुजा, काँक्रो, लिचीजस्ता पानीबाट भरपुर फलफूल खाने गरौं
– खानामा दही-मही नियमित बनाऊँ। र, नरिवल पानीजस्ता स्वस्थ ड्रिंक्स पिउँदै गरौं।
– वान्ता भयो भने ओरल रिहाइड्रेसन सोलुसन पिऊँ
– चुरोट र मदिरा सेवनबाट टाढै बसौं
– चिया र कफी पिउन कम गरौं
दैनिक १ देखि ३ वर्षका बालबालिकालाई ४, ४ देखि ८ वर्षका बालबालिकालाई ५, ९-१३ वर्षलाई ७ देखि ८, १४ देखि १८ वर्षलाई ८ देखि ११, १९ देखि माथिका पुरुसलाई १३, १९ देखि माथिका महिलालाई ९ तथा गर्भवती र दूध खुवाइरहेका आमाहरूलाई १० देखि १३ गिलास पानी पिउनु अत्यावश्यक छ।
भास्कर डट कमबाट